Menu

जीवन थिङ : माटोको ऋण तिरेर फर्किएका कविले पाएका छैनन् माटो

मट्यौली प्रेमलाई कविता र साहित्यमा भनिराखेर जिन्दगीको मध्य दिन नदेखि माटैमा मिलेका कवि जीवन थिङलाई सिक्किमले जन्माएको खाँटी र आँटी छोरो मान्छु।  उनी ४७ वर्ष अघि नै सिक्किमे माटोको मायामा बलिया साहित्य सिर्जना गरिराखेर हिँडेका हुन् ।  कवि थिङको सोच शक्तिले अझै पनि सिक्किमको माटोमा लेखिने साहित्यहरू भने झनझनाइ रहेका छन्। जिन्दगीको तीस वसन्त-हिउँदो काट्न नपाई बाटो लाग्नेहरूमा अच्छा राई रसिक, जोहन किट्स,सिल्भिया प्लाथ, पर्सी बिसी सेली जस्तै कम्ती बाँचेर आफ्ना कामहरूमा अमर भएका  कवि हुन थिङ। सिक्किमले माटो कवि भनेर उपाधी दिएको कवि जीवन थिङ। असाधरण कवि व्यक्तित्व बोकेका थिङको  ‘साङ्लोमा बाँधिएका घोडाका टापहरू’ एक्लो साहित्य सङ्कलन हो जुन उनले जीवन कालमा देख्न पाएनन् । थोरै लेखेर धेरै चर्चित हुने  कवि थिङ  गइसकेपछि दान खालिङले सम्पादन गरेको कविता, गीत, मुक्तक, खण्ड काव्य, समालोचना र कथाहरूको सङ्कलन अप्रेल १९८३ मा श्याम ब्रदर्श प्राकाशन दार्जीलिङले उज्यालोमा ल्यायो।  उनको कर्महरू अधिकांश रूपमा सिक्किमको माटो र माटोमा रहिआएका मानिसहरूको तीतो यथार्थहरूलाई काव्यिक र साहित्यिक कलामा उनेर भविष्यको निम्ति खै गरिराखिदिएको भविष्यवाणीजस्ता चेतहरू हो। उनले त्यत्तिबेला सोचेका विचार तत्कालिन समयभन्दा छिटो थियो। उनले खिपेका हरेक शब्दहरूमा भविष्यमा आइपर्ने अस्तित्व सङ्कट, चिनारीको प्रश्न, आर्थिक विपन्नता र अनुहार हराउन सक्ने सम्भावनाहरूलाई काव्याङ्कित गरिराखेका पाउँछौँ। कवि जीवन थिङले जे लेखे त्यो समयभन्दा अगाडि छ। 

जीवन थिङ / सौजन्य: प्रबिन खालिङ

१९ दिसम्बर १९५५ सालमा दक्षिण सिक्किमको नाम्चीमा जन्मिएका जीवन थिङले गान्तोकको सिच्छे तामाङ गुम्पा नजिकको पुस्तैनी बासस्थानमा समय बिताएको पाउँछौ।  १९७२ सालमा दार्जीलिङको सन्त जोसेफ कलेजमा स्नातकको अध्ययन गर्न गएपछि उनको साहित्यिक प्रतिभाले आफ्नो चमत्कार देखाउने मौका पायो। लगभग पाँच वर्षमात्र सक्रिय साहित्य अभ्यास गर्न पाएका कवि जीवन थिङ फोक्सोसित सम्बन्धित बिमारीको कारण १९७८ मा कोलकत्ताको पीजी अस्पतालमा सधैँको निम्ति निदाए। ‘काँशी जलिरहोस्’ भन्ने पहिलो प्रकाशित कविता सन्त जोसेफ कलेजको म्यागेजिन नर्थ पोइन्टरमा छापिएसितै उनी कविको रूपमा चिनिएका हुन्। जम्मा ८२ वटा कविता लेखेका हुन् ती मध्ये प्राप्त भएको ७९ वटा कविता उनको साहित्य सङ्कलन ‘साङ्गलीभित्र बाँधिएका घोडाका टापहरू’ मा छापिएको छ।  उनले कथा लेखे, गीत लेखे, समालोचना लेखे अनि लेखे खण्ड काव्य ‘नार्सिस’ जसको सात खण्ड रहेको छ तर अन्तिम खण्ड पुरा छैन्। उनले त्यो खण्ड काव्य पुरा गर्न अघि नै जानु पऱ्यो। आफ्नो मित्र डॉ. घनश्याम नेपाललाई लेखेको पत्रमा ‘नार्सिस’ खण्ड काव्य पुरा गर्नुपर्ने अऩि अन्य काम पनि रहेको आफू निको भएर आएपछि  पुरा गर्ने उल्लेख छ तर उनीभित्र दुखिरहने सिक्किमको पिडा सितै गए।सिक्किम भारतमा विलयपछि उनको माटो प्रेमको भक्कानो सधैँ फुटिरहन्थ्यो। उनको हरेक रचनामा सिक्किम ओतप्रोत अनि  माटोप्रतिको अघात प्रेम छ। त्यसैले साहित्यकार दान खालिङले भनेका छन् , “यी कवि आफ्नो देशको, सिक्कमको यति माया गर्छन्, जसको सिमाना छैन। कविता पढ्दा-पढ्दै पाठक आफै पनि सिक्किम सचेत हुन पुग्छ र आफ्नो स्थिति- अवस्थिति बिर्सेर मेरो सिक्किम, मेरो देश भन्ने अवस्थामा पुग्छ”। 

उनले खिपेका हरेक शब्दहरूमा भविष्यमा आइपर्ने अस्तित्व सङ्कट, चिनारीको प्रश्न, आर्थिक विपन्नता र अनुहार हराउन सक्ने सम्भावनाहरूलाई काव्याङ्कित गरिराखेका पाउँछौँ। कवि जीवन थिङले जे लेखे त्यो समयभन्दा अगाडि छ। 

तार्किक जीवन थिङ

मुटुभरि माटोको माया बोकेर हिँड्ने माटो कवि जीवन थिङ अब्बल दर्जाका तार्किक पनि थिए। त्यसैले त १९७४ सालको २ अक्टूबरको एउटा सुनौलो सम्झना कवि कथाकार कालुसिंह रनपहेंलीले साझा गरेको एउटा यादले स्पष्ट पार्छ।  कवि रनपहेंली लेख्छन्, “त्यो थियो २ अक्तूबर सन् १९७४ , गान्धी जयन्तीको दिन। गोर्खा दु:ख निवारक सम्मेलन दार्जीलिङको तत्वावधानमा सम्मेलनकै नीज भवनमा आयोजित भएथ्यो स्वामी प्रबुद्धानन्द स्मारक च्यालेञ्ज शील्डको पाँचौं वार्षिक तर्क प्रतियोगिता। खचाखच भरिएको हलमा कालेबुङ सरकारी महाविद्यालय र सन्त जोसेफ कालेज,दार्जीलिङबिच घमासान भएथ्यो त्यो वाक् युद्ध। सन्त जोसेफ कालेजका हामी पाँच तार्किकहरू राजेन्द्र ढकाल,भीम प्रसाद अधिकारी, जीवन थीङ,कालूसिंह रनपहेंली अनि जमानसिंह गुरुङ तैयार थियौं। हाम्रो दलका अगुवा थिए जीवन थीङ। त्यो वाकको कुश्तीमा हामी बलवान निस्क्यौं। स्वामी प्रबुद्धानन्द स्मारक च्यालेञ्ज शील्ड हामीले जित्यौं। हाम्रो हर्षको सीमा रहेन। त्यो समय हामीभन्दा धपक्क बलेका थिए नेपाली विभागका हाम्रा प्राध्यापक श्रद्धेय जेरर्ड मुखिया”। उनले प्रतियोगिताका टोली हामी पाँचजनालाई चौक बजारमा पोस्ट अफिस छेउको प्रसिद्ध नारायण दासको मिठाई दोकानमा लगेर भनेका थिए,“म आज अति खुशी छु। तिमीहरूले मेरो नाक राख्यौ। तिमीहरू जे खान्छौ खाऊ।” हामीले मिठाइहरू खाएका थियौं। खुशीले हाम्रो खुट्टा भुइँमा थिएन।

राजेन्द्र ढकाल, भीमप्रसाद अधिकारी, जीवन थिङ , कालु सिहा रानपाहेली, र जमन सिहा गुरुङ / स्वामी पी बहस प्रतियोगिता / सौजन्य: प्रबिन खालिङ

पत्रकार जीवन थिङ

साहित्यको सबै विधामा राम्रो खिप्ती गरेर छोटो समयमै स्थापित बन्न पुगेका जीवन थिङको जीवनको अर्को पाटोहरू मध्ये पत्रकारिता पनि एउटा थियो। उनले ‘सुधा’ नामक साहित्यिक पत्रिका सम्पादन गरेका थिए। त्यसै गरि नेपाली समाचार पत्र ‘हिमाली’बेलामा पनि काम गरेको कुरा कवि डा. राजेन्द्र भण्डारी बताउँछन्। कवि भण्डारी जीवन थिङसितको आफ्नो प्रसङ्ग केलाउँदै  भन्छन्, “जीवन थिङलाई मैले १९७६ मा चिनेको,भेटेको हुँ। उनी ‘हिमाली’ बेला समाचार पत्रको कार्यालयमा काम गर्थे ।म त्यस बेला मेरा ससाना लेखोट उनलाई देखाउथेँ। उनी हौसला,प्रेरणा दिन्थे। अत्यन्त नरम र शिष्ट स्वभावका थिङले हामी बामे सर्दैगरेका साहित्यका विद्यार्थीलाई अत्यन्त सद्भाव राख्थे।केही पछि त्यहीँबाट 'सुधा' नामक साहित्यिक पत्रिका को सम्पादन गरे। म उनलाई दाजु भन्थेँ। मैले सिक्किममा आजसम्म उनीजत्तिको सशक्त कवि देखेको छैन।'साङ्लीभित्र बाँधिएका घोडाका टापहरू' नामक उनको गद्य-पद्य मिश्रित सङ्ग्रह उनको मरणोपरान्त प्रकाशित भएको थियो। उनको असामयिक निधनबाट सिक्किमले  साहित्यको एकजना वरद पुत्र गुमायो। सिक्किम भारतमा विलय हुँदा उनको युवाहृदय क्षत-विक्षत भएको थियो।यही आघात उनका कविताहरूमा प्रतिविम्बित पाइन्छ”।

थिङ आफ्नो परिवारसँग सिचे हाउस गान्तोकमा / सौजन्य: आर्टेम

मैले सिक्किममा आजसम्म उनीजत्तिको सशक्त कवि देखेको छैन।'साङ्लीभित्र बाँधिएका घोडाका टापहरू' नामक उनको गद्य-पद्य मिश्रित सङ्ग्रह उनको मरणोपरान्त प्रकाशित भएको थियो। उनको असामयिक निधनबाट सिक्किमले  साहित्यको एकजना वरद पुत्र गुमायो। सिक्किम भारतमा विलय हुँदा उनको युवाहृदय क्षत-विक्षत भएको थियो।यही आघात उनका कविताहरूमा प्रतिविम्बित पाइन्छ”।

विलयको प्रश्न एउटा अर्कै विषय हो। कवि थिङको विलयविरोधी अडानलाई सिक्किमबाटै धेरैले विरोध गरे। राजनैतिक अपरिपक्वता भने। तर उनले कवितालाई जसरी,जुन शैलीमा,जुन संवेगमयताका साथ प्रस्तुत गरे त्यो शक्तिशाली र प्रभावी छ।जेजस्तो प्रतिक्रिया आवोस् त्यसमा अडिग रहेर लेख्नु उनको लेखनगत इमान्दारिता हो।सन् १९७३-७४-को जन आन्दोलन र तत्पश्चात् १९७५-को विलयनलाई  निर्भिकतापूर्वक साहित्यिक रुपमा प्रस्तुत गर्ने उनी सिक्किमका बिरल साहित्यकार हुन् ।उनका कथाहरू पनि कविताजत्तिकै प्रखर छन्। कथामा उनको विषयपरिधि केही व्यापक छ। कवि थिङ अहिले केही ओझलमा परेको देखिन्छ।त्यसको कारण उनले उठाएको विवादस्पद मुद्दा हो तर यसले गर्दा कवित्वचर्चा पनि कम हुन पुगेको छ।यस्तो नभए हुन्थ्यो जस्तो मलाई लाग्छ।हामी अभिव्यक्तिको स्वतन्त्रतालाई मान्छौँ भने अनि खाँटी कवित्वको सराहना गर्छौँ भने जीवन थिङको पुनर्पठन हुनु आवश्यक छ।

अध्येयता जीवन थिङको विरासत

नेपाली साहित्यमा चलेको पाश्चात्य साहित्य अध्ययन र तत्कालिन ग्रीसेली मिथकहरूको अभ्यासमार्फत आफ्ना कुराहरू साहित्यमा राख्ने चलेको चलनबाट जीवन थिङ पनि अभिप्रेरित थिए। उनलाई दार्जीलिङबाट सिर्जित तेस्रो आयमको लेखन परम्परासितै अन्य प्रयोगात्मक लेखन परम्पराको बोधले छोएकै थियो। उनको खण्डकाव्य ‘नार्सिस’ त्यसैको प्रभाव मान्न सकिन्छ। तर उनले वैश्विक सन्दर्भहरूलाई पनि सिक्किमसित केलाएर हेर्ने गर्दथे। उनी धेरै अध्ययन गर्थे र सन्दर्भहरूको खोजीमा हुन्थे भन्ने रोचक प्रसंग उनको सहपाठी समेत रहेका सिक्किमका कुशल अनुवादक तथा समिक्षक मन्दीप लामा बताउँछन्।  समिक्षक लामाले ‘नार्सिस’ खण्डकाव्य लेख्न अघिको रोचक प्रसंग साझा गरेका छन्। उनी भन्छन्, “स्वर्गीय जीवन थिङलाई उनको ६९ औं जन्मजयन्तीमा कसरी सम्झन्छु ?उ मेरो कक्षा साथी मात्रै नभई नेपाली भाषा कक्षाको साथी पनि थिए । जे होस्, उनको जन्मजयन्तीको आजको दिनमा, म उनलाई उनको एउटा विरासतको लागि सम्झन चाहन्छु जुन उनले मसँग छोडिगएका छन्”। 

उनलाई दार्जीलिङबाट सिर्जित तेस्रो आयमको लेखन परम्परासितै अन्य प्रयोगात्मक लेखन परम्पराको बोधले छोएकै थियो।

जीवन दार्जिलिङमा स्नातक गरिरहँदा एक दिन म लाइब्रेरियनको रूपमा काम गरिरहेको थिएँ।  सामुदायिक केन्द्र पुस्तकालय, गान्तोकमा उ मलाई भेट्न आएको थियो।  त्यो दिन म स्वर्गीय श्रीमती रोजाबेल नाम्चु (लोकप्रिय रूपमा "रोसा गुरुमा" भन्छौ) सँगै  पुस्तकहरू मिलाउन व्यस्त थिएँ । पुस्तकालयमा भर्खरै आएका पुस्तकहरूको वर्गीकरणमा क्युरेटरको काम गरिरहेको थिएँ । मलाई किताबको थुप्रोले घेरिएको देखेर जीवनले भने, "मन्दीप, तिमी धेरै भाग्यमानी छौ,सधैं यति धेरै किताबको बिचमा रहनु पाएका छौ।  मैले मुस्कुराउँदै जवाफ दिएँ, "म भाग्यमानी छु, साँच्चै!"केही सानो कुराकानीपछि जीवनले भने, “मन्दीप, म सिक्किमको इन्डियासँग विलयको विषयमा खाण्ड-काव्य लेख्ने योजनामा ​​छु । यो खण्डकाव्यलाई ‘नार्सिसस’ भन्ने सोचेको छु । सायद तिमीलाई नार्सिसको कथा थाहा छ।"मैले जीवनलाई भनें कि मैले ‘नार्सिस’ मिथकको बारेमा सुनेको छु तर आफैले पढेको छैन। जीवनले मलाई नार्सिसको मिथक सुनाए । आफ्नो कथाको अन्त्यमा उहाँले भने, “तिम्रो पुस्तकालयमा ग्रीक पौराणिक कथाहरूमा केही पुस्तकहरू हुनुपर्छ। म चाहन्छु तिमीले ती पौराणिक कथाहरू पढ्, विशेष गरी ‘नार्सिस’ र मेरो खान्ड-काव्यको लागि मेरो लागि पृष्ठभूमि तयार पारिदेऊ”

यसरी मैले ग्रीक पौराणिक कथाहरू पढ्न थालें, ‘एस्किलस’, ‘सोफोक्लिस’ र ‘युरिपाइड्स’का केही ग्रीक त्रासदीहरू पढेर, ग्रीक साहित्यप्रतिको मेरो लगाव दिनप्रतिदिन बलियो हुँदै गयो। त्यसपछि नै म र ग्रीक पौराणिक कथाहरू बीच भर्खरै रोमान्स सुरु भएको थियो। यो आज सम्म जारी छ! ग्रीक पौराणिक कथामा मेरो पछिल्लो पटक मैले  रोबर्ट ग्रेभ्सको दुई-खण्ड ‘द ग्रीक मिथ्स’  किने।  अर्को जोसेफ क्याम्पबेलको चार-खण्ड ‘द मास्क अफ गॉड्स’ (आदिम पौराणिक कथा, ‘ओरिएन्टल पौराणिक कथा’, ‘ओक्सीडेन्टल मिथ्यालोजी’, र ‘क्रिएटिभ मिथलोजी’) पनि मसित छ। जीवन थिङलाई उनको ‘नार्सिस’खाण्डा-काव्य लेख्नका लागि मेरो नोटले कुन हदसम्म मद्दत गर्‍यो मलाई थाहा छैन, किनकि उ उत्तर बङ्गाल विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनको लागि भर्ना भएपछि हामी विरलै भेट्यौं।

जे होस्, म आज भन्न सक्छु, जीवन थिङले मलाई पौराणिक कथाहरूको संसारमा अगुवाइ गरेर मेरो जीवनको बौद्धिक पक्षलाई ठूलो रूपमा समृद्ध बनायो।  अझै पनि, ग्रीक र अन्य पौराणिक कथाहरूको संसारमा घुम्नको लागि अभिप्रेरित गरिरहन्छ जुन मेरो लागी  एक समृद्ध अनुभव हो भन्छन् समिक्षक लामा। उनले आफ्नो जीवनमा थिङले छाडिगएका राम्रो कुराहरूको साथमा अध्ययनको विरासत ठानेका छन्। 

बलियो कथाकार जीवन थिङ

माटो कवि उपाधी नै पाइसकेपछि जीवन थिङ कविकै रूपमा धेरै चर्चामा छन्। उनको निधनको चार दशक बितेर जाँदा पनि उनीबारे चर्चा कम भएको छैन्। तर उनले जति कविता लेखे त्यसको तुलनामा थोरै कथा र लेख लेखेका छन्। तर उनले कम्ती लेखेका कथाले नै उनलाई सम्मान दिएको अर्को पाटो भने अहिलेसम्म थोरै चर्चा गरिन्छ। उनको कथा ‘बिम्ब-प्रतिबिम्बः गान्तोकको कलिलो बिहान’ ले नेपालको चर्चित रत्नश्री स्वर्ण पदक जितेका थिए।  उनले जम्मा १२ वटा कथा कथिगएका छन्। जसले सिक्किमकै तत्कालिन र भविष्यको स्थितिको नक्सा कोरेको पाउँछौँ। आख्यानकार तथा कवि प्रवीण राई जुमेलीले जीवन थिङको कथाहरूको पैरवी गर्छन्। उनले जीवन थिङको कथा कथ्ने प्रतिभाको पक्षलाई बलियो मानेका छन्। कवि जुमेली भन्छन्, जीवन थिङ सिक्किमको इतिहासमा साहित्यको मात्र नभएर अरू सम्झना गर्नुपर्ने पछाडी फर्के सिक्किमको इतिहासमा हेर्छौ सम्झना गर्नुपर्ने व्यक्तिको रूपमा हेर्छौँ। उनको काव्य र कथामा जुन पहिचान छ त्यसले नै उनको परिचय त दिइहाल्छ। उनको लेखनमा जुन शिल्प छ ‘साङ्गोलमा बाँधिएका घोडाका टापहरू’ हेर्दा जीवन थिङले आफ्नो लेखनको पाठ जुन छ सिक्किम भर्खर भारतमा विलय भएको  र त्यो विलयको विरोधमा स्वर सुनिन्छ। त्यसै पनि उनी सिक्किमवादी भएकोले गर्दा उनलाई ‘माटो कवि’ भनिएको हो। खाँटी सिक्किमेको सम्झना गर्नुपर्दा जीवन थिङको नाम लिन सकिने कवि जुमेलीको ठम्याइ छ।   शिल्पको हिसाबले कवितामा जुन सहजता छ त्यत्तिबेलाको राजनैतिक उथुलपुथुल थियो विभिन्न समयमा लेखिएको छ जुन कविता बलियो गरेर आएको छ त्यसमा त्यसबेलाको काव्यात्मक जमर्कोको रूपमा अघि आएको छ। कवि जुमेली भन्छन्, कवितामा भन्दा कथामा जीवन थिङलाई धेरै बलियो देख्छौँ।  कथाको जुन शिल्प छ सायद पाठकहरूले या समाजको अरू मानिसहरूले राम्रोसित नपढेको हुनाले चर्चामा आएन तर कवितामा भन्दा कथामा जीवन थिङलाई बलियो देख्छौँ । 

सपनाको देश
जीवन थिङ

कस्तो होला -
जूनको छाया परेको
मान्छेको माया बसेको
त्यो सपनाको देश
जहाँ कसैले हाँस्नलाई
रक्सीको सहारा लिनुपर्दैन
जहाँ पेट भर्नलाई
चिसो पानीको आसरा लिनुपर्दैन
जहाँ निद्रा बोलाउन चिसो भुईंमा
बुद्ध जस्ता शुद्ध बालकहरूले पेट कस्नुपर्दैन
जहाँ कोही असीम ज्ञानको सागर बन्दा
कसैले आखाँ बन्द गरेर अचेत बस्नुपर्दैन ।

केटा केटीहरू
जीवन थिङ

सधैं राती भूत-प्रतदेखि
तर्सने ससाना कलिला मुटुहरू आजकाल अँध्यारा रातहरूमा
हिमाल जस्तै जागेर
यो शहरको घर-घरमा गई
ढोका खटखटाउने गर्दछन्
र भित्र मान्छेहरू बेहोश बेहोश मृतात्मा बनेर कफनमा निदाएका देख्दा
मुसुक्क हाँस्ने गर्छन्
र हिमालतिर फर्केर भन्छन्
अरूलाई झै हामीलाई
यो धरतीमा जाग्नलाई
भाले बास्नै पर्दैन ।

जीवन थिङ मार्ग र सालिक

माटो कविको उपाधि सितै सिक्किमको राजधानी गान्तोकको डेपलोपमेन्ट एरिया जाने वर्तमान मनन केन्द्रदेखि टासी नामग्याल उच्चत्तर माध्यमिक विद्यालसम्म पुग्ने बाटोको नाम ‘जीवन थिङ मार्ग’ राखिएको छ।  थिङलाई माया गर्नेहरूमा उनको मित्र सिक्किमका पूर्व मन्त्री तथा वरिष्ठ कलाकार थुकचुक लाचुङपा पनि एक हुन्। जसले जीवन थिङको पूर्ण कदको सालिक बनाए। काँस्य सालिक धेरै अघि बनिएर गान्तोक आइपुगेको हो। तिब्बत पथस्थित बीएल हाउसमा केही समय अघिसम्म सुरक्षित थियो। आफ्नो प्रिय मित्र कवि जीवन थिङको सालिक बनाएर ल्याएपछि कलाकार लाचुङपाले भनेका थिए, कवि जस्ता समाजका सम्मानित व्यक्तिको भव्य सालिक बनिएर आयो अब भव्य पेडेस्टलमाथि स्थापित गरिनुपर्छ। सरकारले यसको निम्ति उचित जमिनको व्यवस्था गर्नुपर्छ।  समय बितिरह्यो माटो कवि जीवन थिङले माटो पाएनन्। अहिले कवि थिङको सालिक निर्माता कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि सुन्दर बोल्ला जस्तो कवि जीवन थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।  कलाकार लाचुङपाले आफूले लन्डनमा कलामा स्वर्णपदक सहित स्नातक गरेककोबेला जीवन थिङले अन्तर्गवार्ता छापेको सम्झना गरिरहन्थे। त्यसबेलाको सोझो सिक्किमेलाई कला र स्वर्ण पदक अनि लन्डनमा पुगेर पाएको सफलताबारे कुनै चासो नै नहुँदा कवि जीवन थिङले अन्तर्वाता लिएर दार्जीलिङको चर्चित पत्रिका दियालोमा छापेका थिए। कलाकार लाचुङपाले त्यो अन्तर्वाता छापिएको पत्रिकाको माग गर्दै सक्कली पत्रिका दिनेलाई नगद पचास हजार रूपियाँ पुरस्का राशी पनि तोकेर पत्रकार सम्मेलन गरेका थिए। पत्रिका प्राप्त भएको भने कुनै समाचार प्रकाशमा आएन्। 

सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीद्वारा जीवन थिङ मार्गको उद्घाटन / सौजन्य: आर्टेम

माटो कवि जीवन थिङको सालिक सही ठाउँमा स्थापित गरिनु पर्ने वरिष्ठ पत्रकार तथा कवि भीम रावतको मन्तव्य छ। उनले सालिक स्थापनाको बारेमा बोल्दै भने,जीवन थिङको मुर्ती गान्तकोमा ल्याइएको वर्षौ भयो तर त्यसले अहिलेसम्म उचित ठाउँ पाएको छैन। हामीले हाम्रा महापुरुषहरूको धेरै मुर्तीहरू सिक्किममा स्थापित गरेका छौँ तर जीवन थिङ जस्ता व्यक्तिको मुर्तीले पनि राम्रो ठाउँ पाउनु पर्ने हो। जसले सिक्किमेलाई त्यस समयमा सिक्किमेलाई झकझकाएका थिए उनको त्यो साहित्यिक योगदान उनको देश प्रतिको प्रेमलाई हेरेर पनि गान्तोकमा होस् वा सिक्किमको कुनै पनि ठाउँमा मुर्ती स्थापित होस भन्ने ठान्छु । धेरै वर्ष अघि मुर्ती स्थापना गर्ने समिति पनि बनिएको थियो त्यसलाई अगाडि पनि बढाइयो अहिले पनि बीएल हाउसमा त्यो मुर्ती छ। त्यसलाई पाइक परेको ठाउँमा राख्न सके भावि पिडीले पनि जीवन थिङ को रहेछ भन्ने चिन्ने तथा समाजले सिक्किम प्रतिको माटोलाई माया गर्नु पर्ने रहेछ भन्न चेतना आउँदै गरेको स्थितिमा सिक्किमेलाई नयाँ सन्देश र चेतना दिने छ भनि बताउँछन्। 

निदान छेकमा भन्नु पर्दा जीवन थिङका कविता साहित्यिक योगदान र त्यसका गुणवत्ताबारे चर्चा भइरहेकै छ र विभिन्न विश्वविद्यालयहरूले उनीमाथी शोध कार्यहरू पनि गरिरहेकै छन्। छोटो जीवन लिएर आएका जीवन थिङ कर्महरूमा लामो बाचेका छन्। माटो कविले अब आफ्नै घर आँगनको माटोमा निर्धक्क सालिक उभिएर माटोको माया सबैभन्दा पवित्र मायाको सन्देश दिएर प्रत्येक सिक्किमेको ढुकढुकीमा सिक्किमको माया ढुक ढुक गरिरहेको हेर्ने दिन भने चाँडै आवोस् कामना राख्दै माटो कविका केही कविताहरू पनि यहाँ साझा गर्न चहान्छु। कविता पढ्दा थाहा हुन्छ उनी सिक्किमले देखेको एउटा समयको कति बलिया साक्षी थिए।  

About the Author

प्रवीण खालिङ एक प्रतिष्ठित लेखक, पत्रकार र सम्पादक हुन् जसलाई नेपाली साहित्य र सिक्किम, दार्जिलिङ, आसाम र नेपालबाट निस्कने लेखनहरूमा व्यापक विशेषज्ञता छ। उनी कविताहरूको संग्रह, झरी र निबन्धहरूको संग्रह, चिया गफका लेखक हुन्। २०१४ मा, उनले गान्तोकमा अनौपचारिक नेपाली कविता जमघट, चिया कविता स्थापना गरे, जुन त्यसबेलादेखि यस क्षेत्रमा काव्यिक अभिव्यक्तिको लागि एक महत्त्वपूर्ण मञ्च बनेको छ। खालिङको कामले उनलाई जलवायु परिवर्तनको बारेमा रिपोर्टिङको लागि मुख्यमन्त्री पुरस्कार, राम पात्रो स्मृति पुरस्कार, हिल टाइम्स पुरस्कार, उत्कृष्टता पत्रकार पुरस्कार, लेखराज साहित्यिक पुरस्कार, र शैताय सम्मान पुरस्कार लगायत धेरै प्रशंसाहरू प्राप्त गरेको छ। यी सम्मानहरूले पत्रकारिता र साहित्य दुवैमा उनको महत्त्वपूर्ण योगदानलाई प्रतिबिम्बित गर्दछ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram