Menu

पवित्र भूमिको निर्माण अनि त्यसको अभिभावक

उत्तर जिल्ला सिक्किमको सबैभन्दा ठुलो जिल्ला हो, तर यो सबैभन्दा कम जनसंख्या भएको स्थान हो। यसमा चीन-तब्बतसँगको अन्तर्राष्ट्रीय सिमाना जोडीएको छ, अनि यहाँ लेप्चा अनि भोटिया जनताहरूको बसोबासो छ। यसका धेरै क्षेत्रहरू प्रतिबन्धित छन्; उत्तर सिक्किमको भ्रमणका निम्ति विशेष सरकारी अनुमति आवश्यक छ। जिल्ला दुइ प्रसाशनिक खण्डमा विभाजित छन्: चुङथाङ् अनि मङ्गन, जो जिल्लाको मुख्यालय पनि हो अनि फलस्वरूप धेर आवादी पनि यहीँ नै छ।

जङ्गु, जो मङ्गन प्रशासनिक खण्डभित्र पर्दछ, एक भिरालो पाहाडी वन्य क्षेत्र रहेको ठाउँ हो जहाँको केवल चालीस प्रतिसत क्षेत्रमा मानिसहरू बसोबासो गर्दछन्। यो कञ्चनजङ् बायोस्पेयर रिजर्भको मध्यवर्ती एवं संक्रमण (पस्ने सुरुआती) क्षेत्रमा अवस्थित छ।

पारम्परिक हिसाबमा, सिक्किमको यो क्षेत्र लेप्चा समुदायको उद्भवसित सम्बन्धित छ, जसलाई सिक्किमको वास्तविक मूल निवासी भनेर पनि मानिएको छ। जतिबेला राजनैतिक सिमानाहरू कठोर थिएन, लेप्चाहरू स्वाधीनतापूर्वक पूर्वमा भूटानदेखि पश्चिममा नेपालसम्म आउ-जाऊ गर्ने गर्दथे। सन् १९४० मा, जङ्गु क्षेत्रमा अलैँची खेतीलाई नगदी खेतीका रूपमा सुरु गरियो। अलैँचीका बिरुवा अनि अलैँची खेती जान्ने मजदूरहरू पूर्व नेपालबाट ल्याइए। मङ्गसारी नामक स्थानमा अहिले पनि कतिपय लिम्बु समुदायका मानिसहरू छन्, अलैँची खेतीका निम्ति आएका मूल मजदूरहरूको शाखा सन्तानहरू हुन्। चाँडै मङ्गनलाई सिक्किमको अलैँची राजधानी भनेर चिनिन थालियो। ३० अगस्त १९५६ मा एक शाही घोषणा जारी गरियो अनि त्यसद्वारा जङ्गु क्षेत्रलाई विशेष  आरक्षित क्षेत्र मानियो, एउटा कानून अहिले पनि लागू छ जसमुताबिक अन्य समुदायहरूले यहाँ निवास गर्नु अथवा जमीन किन्नूलाई निषेध गरिएको छ। छोग्याल सर टाशि नाम्ग्यालले जङ्गु क्षेत्र उनको रानीलाई निजी रियासतका रूपमा दिए।

A Lepcha shaman at Tendong Lho Rum Fat 2018, Dzongu
A Lepcha shaman at Lho Rum Fat, 2018, Dzongu

सन् १९७५मा जब सिक्किम भारतमा विलय भयो, छोग्याल संस्थान हटेर गयो। च्याखुङ, पश्चिम सिक्किमका काजी लेन्डुप दोर्जी जो स्वयं लेप्चा थिए, पहिलो मुख्यमन्त्री बने। छोग्याल विरुद्ध उनको नेतृत्वकै समय सिक्किमको भारतमा विलय पूर्ण भयो। त्यससित नै सिक्किममा देखिएको दुइ कुराको परिवर्तनले अहिलेको पहिचान लिएर सचेतनालाई उकासीदियो- सन् १९७७ को कञ्चनजङ्गा राष्ट्रीय उद्यानको घोषणा अनि सिक्किमको तीन जिल्ला, उत्तर, पूर्व र दक्षिण जिल्लामा फैलिएको जल विद्युत परियोजनाको सुरुआत। टाशिडिङ् अनि रंगीत नदीलाई पनि जलविद्युत परियोजनासित जोड्ने कोसिसलाई लामाहरूको घोर विरोधको कारण रोकियो। सिक्किमभित्र पहिलो चरणको बाँध निर्माण पूर्व जिल्लाको डिक्चुमा सुरु भयो। जमीन अधिग्रहण, पर्यावरण अनुमति अनि आम नागरिकहरूलाई विश्वासमा लिने जस्ता सबै कामहरूलाई उपेक्षा गरियो। नेसनल हाइड्रोइलेक्ट्रिक पावर कार्पोरेसन लिमिटेड (एनएचपीसी) -ले मानिसहरूमा सन्देह अनि विरोधहरू भरिएको भेएतापनि कुनै कुराको वास्ता नगरी काम अघि बढायो। पहिरो, डुबाउ, सडक, घर, कृषि जमीन, अनि पुलहरूको बिनास आदि हुने स्थिति मात्र यत्तिकै रहेको थियो। बाँध नजिकका जङ्गलहरूको अन्धा धुन्द कटाई अनि पर्यावरणीय सुरक्षाको उल्लंघन आदिले समुदाय एवं जमीनलाई पनि क्षति पुऱ्याइरहेको थियो। एनएचपीसीले निजी कम्पनीहरूलाई काममा राखिरहेको थियो, अनि ति ठिकादारहरूलाई सुरक्षा उपायहरूका निम्ति कुनै चासो र सम्मान थिएन। मानिसहरूमा सन्देहलाई अझ बढाईदिने प्रकारको यी निजी कम्पनीहरूले आत्मसात गरेको कामको तरीकालाई परीक्षण गर्न धेरै अध्ययनहरू अघि बढाइए।

पूर्व सिक्किमका भूमिमा धेर  नेपाली समुदायका मानिसहरू बसोबासो गर्दछ अनि सायद उनिहरू संगठित थिएनन्। सबैभन्दा धेर क्षति हेड रेस्ट गुफाहरू खन्न थालिएपछि भयो जो समस्तरीय अथवा हरिजेन्टल थिए। ब्लास्टिङ् अनि खन्ने कामले गर्दा जमीनलाई कमजोर बनाईदियो र सँगै भूमितल्तिरका पानीहरू सोसिएर खोल्छाहरू सुके। जङ्गुका मानिसहरूले आफ्नो क्षेत्रमा पनि त्यस्तै हुनसक्ने डरले जोइन्ट एक्सन कमिटी बनाए ताकी त्यस्ता कार्यको मिलेर प्रतिवाद गर्न सकियोस् अनि अधिकारीहरूलाई सिक्किम जस्तो भूकम्प थेग्नका निम्ति एकदम नाजुक क्षेत्रमा त्यस्ता कार्यको खतराबारे सूचित गर्न सकियोस्। अधिकृतहरूले सेप्टेम्बर २०११ मा उत्तर सिक्किममा आएको विध्वंसकारी भूकम्प बाँध निर्माणका कारण होइन भनेर भन्न धेरै गाह्रो पऱ्यो, यो त सामान्य ज्ञान हो कि यस्ता क्रियाकलापले जमीनलाई कमजोर तुल्याउँदछ अनि यसको भेद्यता बढेर गएको हो। २० जून २००७ मा एफेक्टेड सिटीजन अफ टिस्टाको ब्यानरमा सिक्किममा जलविद्युत परियोजना विरुद्धका आन्दोलनमध्ये एउटा ठुलो आन्दोलन उठ्यो। यसलाई कन्सर्न्ड् लेप्चा अफ सिक्किम (सीएलओएस) अनि जङ्गगुको सङ्घ (एसओडी) -ले समर्थन जनाएको थियो। गान्तोकमा उनिहरूको प्रतिवादले राष्ट्रीय अनि अंतर्राष्ट्रीय मिडियाको ध्यान खिच्न सक्यो। २०९ दिनको भोक हडतालको ठुलो प्रभाव प्रतिभागीहरूलाई पर्न गयो। प्रमुख व्यक्तिहरू थिए, तल्लो जङ्गुका गाउँ ही ग्याथाङका तेन्जिङ् लेप्चा, लिंगदोङ निवासी दावा लेप्चा अनि पासिङदोङ् निवासी ग्यात्सो लेप्चा। रिले भोक हडताल पालन गरिए। धेरै युवाहरू आन्दोलनमा जोडिए। यो अनुभवले उनिहरूलाई परिवर्तन गरिदियो, जमीन अनि संस्कृति लिएर उनिहरूको आँखा उघारिदियो, उनिहरूलाई त्यस्तै विश्वभरीका मूलवासीहरूको आन्दोलनबारे ज्ञान प्राप्त गर्न अनि उनिहरूसित सम्पर्क गर्न सघाउ पुग्यो।

Lingthem village, Dzongu

यो अनुभवको विशिष्टता के रह्यो भने यसले लेप्चा पूर्वजहरू गहन पारिस्थिकी (पर्यावरणीय दर्शन जो प्रकृति प्रेममा आधारित रहन्छ) -को विस्वासलाई पुन: पुष्टि गरिदियो (यस् आन्दोलनले आत्मसात गऱ्यो कि सबै जीवित प्राणी अथवा उद्भिद- विविधता अनि जीवनको समृद्धि - सबैको आन्तरिक मूल्य छ अनि धेरै पर्यावरण व्यवस्थामा मानवीय हस्तक्षेप भविष्यका निम्ति लाभप्रद हुँदैन (Naess, 2002, as quoted in Little, 2008)। पारम्परिक हिसाबमा एक पीढीदेखि अर्को पीढीलाई भनिने कथाहरू फेरि भनिए, फेरि सिकिए। धेरै युवाहरू जङ्गु बाहिर निस्किए,  बाहिरका संस्थानहरूमा शिक्षा प्राप्त गरेका हुनाले, बाह्य प्रभावका निम्ति ति कुराहरूलाई बाहिर नै प्रकाशमा ल्याउने काम गरे। बाँध निर्माणले ल्याउने खतराहरूको ज्ञानले उनिहरूको पूर्वजका जमीनबारे आँखा उघारिदिएको थियो अनि त्यसको संरक्षण आकस्मिक आवश्यकता बनिएको थियो, तथा विकासको नाममा त्यस क्षेत्रलाई भ्रष्टिकृत हुनदेखि जोगाउनु थियो। लेप्चाहरूको अस्तित्व नै उनिहरूको जमीन गाँसिएको हुनाले, जङ्गु  एकचोटी फेरि तीर्थाटनको निम्ति एक पवित्र स्थान बन्न गयो, दाजिलिङ् एवं कालेबुङका लेप्चाहरूको निम्ति पनि।

केरी लिट्टल, एक आस्ट्रेलियन विद्वान जसले यस आन्दोलनलाई जङ्गुदेखि गान्तोकसम्म पाइला पाइलामा हेरे उनले लेखे, 'बाँध विरोधी प्रदर्शनकारीले उनिहरूको जङ्गुका रक्षक भन्ने परिचय उनिहरूले जानेका अनि सम्बन्धित कथाहरूका माध्यमबाट सिर्जित गरेका थिए। त्यो कथाहरू कतिपय इतिहास, मिथक, लोककथा अनि सिर्जन कथाहरूबाट थिए; अनि कति वर्तमानमा चलिरहेको प्रदर्शन, पर्यावरण अनि राजनीतिबाट... प्रदर्शनका विभिन्न समय... जङ्गुलाई रक्षा गर्नका निम्ति, उनिहरू आफ्नो परिचयको नवीकृत गौरव बोकेर अनि आफ्नो विरासतप्रतिको चासो लिएर त्यहाँ फर्किए।' (लिट्टल, २००८)

'यो जङ्गल नै थियो जसले पुराना समयका कथाहरू बोकेका थिए; झाँकरी अनि शिकारीहरूले भनेका कथाहरू... पूर्वजहरूको समयदेखिका पवित्र कथाहरू प्रतिवाद आख्यानहरू भए जब जोदाहा अथवा सङ्ग्रामीहरूले ति भूमिमाथि आफ्नो हकदावीका निम्ति मिथकीय कथाहरू सन्दर्भका रूपमा अघि ल्याए।' (लिट्टल, २००८)

बाँध बनाउनदेखि रोक्ने अनि सिक्किमका नदीहरू छेकाबारबिना मुक्त बग्न दिने यो सङ्घर्षको माध्यमद्वारा प्रमुख जोदाहा (एक्टिभिस्ट)-हरूले प्रकृतिसित एकाकार रहेको अनि तिनीहरूको अस्तित्वको पवित्र अर्थ रहेको गहिरो अर्थ दिने टिकाऊ जीवनको उदाहरण सनुसरण गर्ने बाटो रोजे।

तेन्जिङ लेप्चा

तेन्जिङ् लेप्चा हिग्याथाङका प्रमुख लामा नेटुकका बाह्र नानीहरू मध्ये एकजाना थिए। उनि एक ख्यातिप्राप्त फुटबल खेलाडी थिए, जसको लक्ष्य एक असल फुटबल क्लबमा खेल्ने रहेको थियो। तर भोक हडतालमा उनको सहभागिताले उनको जीवनको उद्देश्यलाई परिवर्तन गरिदियो। उइले छाड्दै गएको उसको जमीनले अचानक उसलाई आफुतिर तीव्रतापूर्वक तान्नथाल्यो। उसको सङ्घर्ष अनि भोक हडतालको आत्म परीक्षाले उनलाई भूमिको रक्षा गर्नु आवश्यक रहेको विषयमा महसूस गरायो। सङ्घर्षमा उसको सहभागिताले लेप्चा संस्कृतिप्रतिको उनको लगाव अझ गहिरो बनाएर लग्यो अनि लेप्चा समुदायका निम्ति जङ्गु प्रमुख केन्द्र रहेको तथा यसलाई उग्र अनि अनियन्त्रित विकासदेखि रक्षा गर्नुपर्ने  विषयमा सचेत बन्न पुगे।

उनले हीग्याङथाङको सुन्दर गुम्बालाई संरक्षण गर्नको निम्ति समर्थन बटुल्न सक्रिय भूमिका निर्वाह गरे। त्यो गुम्बा उनका बाजे, मण्डल हुँदा, उनकै सहयोगमा क्षेत्रका सबै घरका सदस्यहरू मिलेर पुनर्निर्माण गरेका थिए। त्यो त्यहाँका समुदायको एकताको प्रतीकका रूपमा उभेको थियो। त्यसलाई भत्काउनको साटो, समुदायले चेतन राज श्रेष्ठ जस्तो संरक्षणवादी शिल्पकारलाई यो विरासतको अंश संरक्षण गर्न सघाउ पुऱ्याए।

सन् २०१७ को जुन महीना जब म तेन्जिङकहाँ गएँ, उनि एक व्यस्त अनि सन्तुष्ट मानिस थिए। उनले आफुलाई कृषिकार्यमा व्यस्त राखेका थिए, घरको जमीनदेखि बाहेक अरूका जमीन पनि लीजमा लिएर सुन्तला लगाएका थिए। उनले बिकास विरोधी अनि सरकार विरोधीको ठप्पा बोकेरै पनि तर रसायनिक पदार्थहरूको प्रयोगलाई बारम्बार अस्विकार गर्दै आएका थिए। उनका सुन्तलाहरू सिलगडीका बजारमा श्रेष्ठ भनेर मानिएका थिए। उनले आफ्नो काम कार्वाहीमा समुदायलाई संगलग्न गर्दथे विशेष गरेर युवा विद्यार्थीहरूलाई। स्कुलको छुट्टी भएको समय नै सुन्तला टिप्ने समय हुन्थ्यो। उनले विद्यार्थीहरूलाई सुन्तला टिप्ने काममा राख्थे अनि उनिहरूलाई पारिश्रमिक दिन्थे जसलाई उनिहरू किताब अनि अन्य स्कुली आवश्यक वस्तु किन्न प्रयोग गर्थे।

उनले एक सफल होमस्टे पनि चलाईरहेका थिए। उनका घर आउनेहरू धेरै प्रकारका अथितिहरू थिए, उनिहरू मध्ये केहीले त हल्का कृषिकार्यमा पनि सहभागी बन्दथे। होमस्टेको मुटु जस्तो त्यसको किचन थियो, जसको आकार ठुलो अनि आरामदायक थियो। तेन्जिङले खाना बनाउनु थालेपछि, उनका बाबु, जो कुनामा बसेका थिए, उनले त्यस भूमिको कथाहरूका स्वाद चखाए।

तेन्जिङले भन्यो कि त्यो जमीनले उनको सबै आवश्यकता पुरा गरिदिएको छ अनि बगिरहेका नदीको आवाजले धेरै शान्तिको भाव दिन्छ। हालमा उनि जमीनमा काम गर्न अनि उनका परिवार र समुदायसित जोडीएर सन्तुष्ट छ। उनि अहिले बाहिर निस्किएका अनि आन्दोलनहरूमा सहभागी छैनन्, तर उनको जीवन एक टिकाउ जीवन अनि सरकारी नौकरीको विकल्पका रूपमा सफल खोजीको उदाहरण मान्न सकिन्छ।

दावा लेप्चा

दावा जो जङ्गुको लिङदोङ् गाउँबाट आएका हुन् उनि नेसनल इन्स्टिट्यूट अफ फिल्म एन्ड फाइन आर्ट, कोलकाताका स्नातक हुन्। उनले धेरै वर्ष नामग्याल इन्स्टिट्यूट अब टीबेटलजी, गान्तोकमा जातीय (ethno) वृत्तचित्रमा केन्द्रित रहेर सिनेमेटोग्राफरको रूपमा कार्यरत थिए। उनको चलचित्र, 'रिचुवल जर्नी' सन् २०११ -को 'मई महीनामा रोयल एन्थ्रोपोलजिकल इन्स्टिट्यूट्स इन्टरनेसनल फेस्टिबल अफ एथनोग्राफिक फिल्म्' जो लण्डनमा आयोजित थियो त्यसमा प्रदर्शित गरिएको थियो। उनले 'नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलजी'-का शोध निर्देशक अन्ना बालिकीको निर्देशनमा रही सात वर्ष जङ्गुका अस्सी वर्षीय बुङ्थिङ्ग मेऱ्याकको जीवनमाथि फिल्म खिच्ने काम गरेका थिए। यो क्षेत्रमा उनको रुचीले उनलाई उनको जमीन अनि मानिसतिर फर्काएर लग्यो।जङ्गुमा बाँध विरुद्ध उठेको प्रतिकारको सङ्कटमय वर्षहरूमा उनिभित्र पर्यावरणीय मुद्दा एवं बाँधहरूको नकारात्मक प्रभाव बारेमा सचेतना वृद्धि हुनगयो। त्यो अनुभवले उनलाई राजनीतिको मुख्यधारामा लिएर गयो अनि सन् २०१४ को विधानसभा चुनावमा सिक्किम क्रान्तिकारी पार्टीको सहयोगमा चुनाव पनि लडे। तर उनको बलियो पक्ष भनेको चलचित्र निर्माण नै थियो।

जब हामी सन् २०१७ को अगस्त महीनामा भेट भयौँ , दावाले उनको चलचित्रबारे बताए, जो धेरै वर्षदेखि बन्दै थियो। 'ढोक्बु' उनको बाजेले सुनाएको कथाबाट प्रेरित थियो जसको मूल्य प्रत्येक चरण बाजेलाई तोंगबा खुवाएर तिर्नु पर्थ्यो ।

'ढोगबु' (जसको अर्थ हुन्थ्यो 'रखवाला')-ले दावाको लेप्चा हुनुको अर्थ के हो त्यो बुझाइलाई प्रतिनिधित्व गर्थ्यो।

Filming of Dhokbu

दार्जिलिङ् क्रोनिकल्सलाई दिएको एक साक्षात्करमा उनले भने, 'विश्वका अरू सबै जनजातिहरू जस्तै हामी लेप्चा पनि प्राकृतिक देवी-देवता अनि घना जङ्गल अनि पर्यावरणको रक्षकलाई विश्वास गर्दछौँ। यो फिल्म, एक मिथकीय पात्र लिएर बनिएको हो, जो सिक्किमको पाहाडी वन्यक्षेत्रका अभिभावक अथवा देवता हुन्, जसले शोध कार्यमा निस्किँदा जङ्गलमा हराइपठाएका एक विश्वविद्यालयका युवा विद्यार्थीलाई बचाउँदछ अनि सुरक्षा गर्छ अनि उनलाई सभ्य समाजतिर फर्किनमा मदद पनि गर्दछ। चलचित्रमा मैले मेरै कतिपय विचारहरू पनि राखेको छु, जो मेरो सङ्घर्षपूर्ण दिनहरूमा प्राप्त अनुभूतिहरूबाट प्रभावित छन्।' ('Sikkimese Filmmaker Dawa Lepcha Nominated for Golden Fox Award- The Darjeeling Chronicle', 2017).

यो दावाको निम्ति एउटा घरको चूल्हावरिपरीको न्यानो चहकबाट बटुलेका कथाहरूलाई फेरि अर्को पीढीतिर पुराइदिने नयाँ बाटो बन्यो।

जब यो सन् २०१७ मा रिलीज भयो, यसलाई गान्तोक अनि कालेबुङमा धेरै उत्साहका साथ स्वागत मिल्यो। यसलाई अरू पनि धेरै फिल्म समारोहमा लगियो जहाँ यसलाई प्रसंसा प्राप्त भयो। ' ढोग्बु' -गोल्डन फाक्स अवार्डमा श्रेष्ठ निर्देशकको श्रेणीका निम्ति चयन भयो। वास्तवमा दावा भारतबाट नै कलकत्ता इन्टरनेसनल कल्ट फिल्म फेस्टिभल २०१७ मा यो श्रेणीमा चयन हुने एकमात्र निर्देशक थिए।

मानिसहरूको चलचित्र निर्माणको काममा सहभागिता आफैमा एक यात्रा हो। फ़िल्म कर्मी त्यस्तो प्राकृतिक स्थलमा काम गर्न इच्छुक थिए, जहाँ फिल्ममा चाहिने सर-सामग्री गाउँहरूमा नै उपलब्ध हुन सकोस्। जब दावाले फिल्म बनाउन शुरू गरे, उनले बताए कि उनिसित मात्र ७०,०००/- रुपियाँ मात्र थियो, तर बिस्तारै मानिसहरूले फिल्म निर्माणबारे जानकारी पाउन थाले, उनिहरूबाट नै कोषको पनि व्यवस्था हुँदै गयो।

दावाले हराइरहेका जीवन पद्धतिलाई त्यस्तो माध्यमद्वारा जोगाइराख्ने काम गरिरहे जसमा उसलाई आत्मविश्वास थियो। खाना-पिनाको स्मरणलाई पुनर्जीवित गर्नु, त्यसलाई तैयार गर्ने प्रक्रिया अनि त्यसलाई अरूसित बाँड्ने कामले दावाको भूमि अनि त्यहाँका मानिसहरूसित जोडीने सेतु निर्माण गर्ने लक्ष्य रहेको कुरालाई पुष्टि गर्दछ। उनको वृत्तचित्र 'फाइन्डिङ् पुसेन' (Finding Pushen) मा एक बिर्सिएको खाद्यलाई रेकर्ड गरिएको छ, जो जङ्गुको जङ्गलमा पाइने बेतको प्रजातिबाट बनाइने गरिन्थ्यो। उनले शोधद्वारा  केही बृद्ध मानिसहरू पत्तो लगाए जसलाई त्यासबारे जानकारी थियो।

Dhokbu, Movie poster
Dhokbu, movie poster

ग्यात्सोलेप्चा

ग्यात्सो, एक कानूनका स्नातक अनि एटीसीका एक मुख्य सदस्यले पनि होमस्टे खोल्न पूर्व सरकारी नौकरीको विकल्पको खोजिमा थिए। उनले आफ्नो गाउँ पासिङडोनमा 'मायाल ल्याङ्ग' नामबाट एक सफल होमस्टे चलाउनु सहीत आफ्नो कानूनी कामलाई पनि निरन्तरता दिए। उनले यो अवसरलाई आफ्ना अतिथिहरूलाई खाना दिने माध्यमद्वारा जङ्गु अनि उनका मानिसहरूको संस्कृति बुझाएर प्रयोग गरे। उनले आफ्नो भूमि अनि संस्कृति भविष्यका पीढीको निम्ति सुरक्षित गर्नलाई गरिएको सङ्घर्षबारे पनि बताए।

ग्यात्सो वर्ल्ड हेरिटेज वाच रिपोर्ट २०१८, बर्लिनका निम्ति दस्तावेज लेख्नेहरू मध्ये एक लेखक पनि हुन्, जसलाई सिक्किम एक्सप्रेसमा पनि पुनर्प्रकाशित गरिएको थियो। उक्त दस्तावेजमा भूमि अनि संस्कृति संरक्षणको निम्ति चलिरहेको सङ्घर्षबारे प्रकास पारिएको थियो। कञ्चनजङ्गा राष्टीय उद्यानलाई यूनेस्को विश्व धरोहर क्षेत्रमा 'मिश्रित हेरिटेज' साइटको रूपमा अङ्कित गरिएको थियो जसले दुवै प्राकृतिक एवं सम्बद्ध सांस्कृतिक मूल्यलाई मान्यता दिएको थियो। त्यही रिपोर्टमा भनिएको थियो,- 'सुरुमा हामीले त्यो चयनलाई स्वागत जनायौँ किनकी हामीलाई विश्वास थियो कि हेरिटेज सूचीमा अङ्कित गरिएपछि  त्यसले क्षेत्रका समुदायलाई शशक्तिकृत तुल्याउनेछ, हाम्रो पवित्र भूमि अनि सांस्कृतिक परम्पराहरूलाई अंतर्राष्ट्रीय स्वीकृति अनि मान्यता प्राप्त हुनेछ,हामीले निवासको जङ्गल अनि जमीनमाथि हाम्रो अधिकार बढेर जानेछ, विध्वंसक बिकास योजना अनि पवित्र क्षेत्रको बिनासलाई रोकथाम गर्न सकिनेछ। तथापि चयनको प्रक्रियाहरूको हाम्रो अनुभव, अन्तिम चयनको फाइलको परीक्षण अनि क्षेत्रमा विकास कार्यक्रम अनि सरकारको हस्तक्षेपले धरोहरका रूपमा अंकित हुनु लिएर गहिरो संका उब्जाइदिएको छ। विश्व धरोहरको सूचीकरणले त्यो मूल्य नै कमजोर बनाइदिएको छ जसको संरक्षण गर्ने दावी यसले गर्दछ।'

सन् २००० मा नामांकित 'कञ्चनजङ्गा बायोस्फेर रिजर्भ'-को मूल भाग कञ्चनजङ्गा राष्ट्रीय उद्यानको संरक्षित क्षेत्रभित्र पर्दछ। यसको मध्यवर्ती (Buffer) अनि संक्रमण (transition) क्षेत्र (zone) मा मानिसहरू बसोबासो गरेका भूखण्ड अनि गाउँहरू पनि पर्दछन् जो संरक्षित प्राकृतिक मूल क्षेत्र (core) बाहिर पर्दछन्। राष्ट्रीय उद्यान सुरुमा प्राकृतिक विरासतको श्रेणी अन्तर्गत भारतको विश्व धरोहर क्षेत्रका रूपमा प्रयोगात्मक सूचीमा सामेल गरिएको थियो। सन् २०१२ मा सम्पन्न हितधारक (stakeholder)-हरूको कार्यशालामा यो श्रेणीकरणलाई स्थानीय समुदायले आपत्ति जनाए किनभने उनिहरूलाई विश्वास भयो कि यो श्रेणीकरणले यो क्षेत्रसित जोडिएको सांस्कृतिक मूल्यलाई वेवास्ता गर्दछ अनि उनिहरूले यसलाई 'मिश्रित विरासत'-को श्रेणीमा राखिनु पर्ने कुरामा जोड दिए। विश्व धरोहर मामिलाको सल्लाहकार समितिले (ACWHM) पुनर्समीक्षा गरेर चयनार्थ तैयार गरिएको फाइलमा संसोधन गरेर क्षेत्रको नाम 'कञ्चनजङ्गा पवित्र भूमि' अनि मिश्रित विरासतको श्रेणीमा राखेर, यसको क्षेत्र बिस्तार गरेर यसभित्र कञ्चनजङ्गा बायोस्पेयर रिजर्भको मध्यवर्ती एवं संक्रमण क्षेत्रलाई पनि समावेस गर्ने प्रस्ताव लिए। तर ग्यात्सोले भनाइ अनुसार,- 'श्रेणी भने प्राकृतिकदेखि मिश्रितका रुपमा परिवर्तन गरियो तर राष्ट्रीय उद्यानको सिमाना भने चयनित सम्पदाकै सिमानाका रूपमा कायम रह्यो। मध्यवर्ती भाग, बायोस्पेयर रिजर्भको मध्यवर्ती भाग नै थियो, तर संक्रमण क्षेत्र (Transitional Zone) -लाई भने चयनित सम्पदाको मध्यवर्ती भागबाट अलग राखियो (इन्टरनेसनल काउन्सिल अन मनुमेन्ट एन्ड साइट, २०१६)। चयनप्रक्रियाको फाइलमा ति प्राकृतिक क्षेत्रको सम्बन्धमा समुदायको सहायक मूल्यहरूलाई स्वीकृति प्राप्त भएतापनि नामांकित क्षेत्रको सिमाना संरक्षित प्राकृतिक मूलभागदेखि अलग मानिसहरू बसोबासो गरेको क्षेत्र जो यो पवित्र भूगोलको महत्वपूर्ण हिस्सा हो, यसलाई सामेल गरिएन। हामी.सम्पदाको संरक्षित मूल क्षेत्रदेखि प्रमुख जातीय भूमि अनि पवित्र स्थललाई अलग राखिएको कुरा लिएर चिन्तित छौँ।'

रिपोर्टमा यो पनि बताइएको थियो कि तलावहरूलाई पवित्र स्थलका रूपमा सुचिवद्ध गरिएको थियो, नदी पनि पवित्र भूमिको अंश हुँदा हुँदै पनि नदीको उल्लेख थिएन।

रिपोर्टमा वर्णित बाँध निर्माणलाई 'विध्वंसात्मक विकासको घातक आक्रमण' भनेर पदावली प्रयोग गरिएको थियो। चार प्रस्तावित बाँध निर्माणको कार्यलाई बन्ध गरियो, तर जङ्गुको मुक्त बग्ने नदीलाई जमीन मुनिबाट अन्यत्र लैजाने कोसिसविरुद्ध सङ्घर्ष जारी रह्यो। प्रस्तावित दुइ जल विद्युत परियोजना जो लेप्चा आरक्षित क्षेत्रको संक्रमण क्षेत्रमा पर्दथे, त्यसमध्ये एउटा त उद्यानको मध्यवर्ती क्षेत्रभन्दा आधा किलोमिटर टाडामा मात्र अवस्थित थियो।

रिपोर्टमा यो पनि बताइएको थियो कि तलावहरूलाई पवित्र स्थलका रूपमा सुचिवद्ध गरिएको थियो, नदी पनि पवित्र भूमिको अंश हुँदा हुँदै पनि नदीको उल्लेख थिएन। 'यो आश्चर्यको अनि प्रश्न उठाउन सकिने कुरा थियो किनभने सिक्किमका पवित्र नदीहरूले  पुरानो झाँकरी अथवा बोङथिङ् मान्ने परम्परा होस अथवा बौद्ध पारम्परिक अभ्यास दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।'

सिक्किममा बाँध विकास अनि प्रगतिका निम्ति अनिवार्य मानिएको हो तर यसले पार्वतीय पर्यावरणलाई अपरिवर्तनीय अनि विनाशकारी प्रभाव पाऱ्यो, फलस्वरूप पाहाडी भूखण्ड अझ अनिश्चित अनि पहिरो, बाढ आउनसक्ने गरेर कमजोर बनाईदियो, यससित नै अनुप्रवेशकारीहरूको वृद्धि भएर गयो। जल विद्युत परियोजनाका निम्ति निर्मित गुफाहरूले भुमितल्तिरका पानीको बहावलाई प्रभावित गरिदियो जसको परिणामस्वरूप खोल्छा, धाराहरू सुकेर गए अथवा अन्य ठाउँतिर सरे।

रिपोर्टमा अझ जानकारी दिइएको छ, 'हालैको एउटा मामिला अघि आएको छ जसमा जङ्गुको ३०० मेगावाट पानन जल विद्युय परियोजनामा भएको डायनामाइट बिस्फोटले एउटा पहरामा माटो धस्किएकयो,  त्यसमाथि अवस्थित गाउँका घरहरू भत्काएको छ अनि मान्तामको मुक्त बहने नदीको बहाव छेकिएर कृत्रिम बाँध बनिएको छ।' -त्यही समयदेखि तलाव निकटका गाउँहरूले मानवीय सङ्कट भोगिरहेका छन् किनभने त्यहाँ कुनै गाडीहरू जान सकेका छैनन्। हाइ कोर्टबाट उक्त तलाव सुकाउने आदेश जारी भएको भएतापनि राज्य सरकार भने पर्यटकीय उद्देश्यका निम्ति तलावलाई त्यत्तिकै राख्न चाहन्छन्। यसले स्थानीय जनताको भावनालाई ख्याल नगरी पवित्र स्थलहरूलाई राज्य सरकारले वस्तुकरण र बजारीकृत गर्ने नियत प्रतिबिम्बित गरिरहेछ। अचानक त्यो तलावको पानी सुकेर गयो अनि त्यसमा एउटा बालुवाको किनारा जस्तो बनियो। फेरि त्यो कुन् कारणले भयो भन्ने कुरा थाहा गर्नुको साटो पर्यटकहरूका निम्ति पिक्निक खेल्ने केन्द्रका रूपमा हेरिन थालियो। विश्व धरोहर रिपोर्ट -२०१८ का लेखकहरूले लेखे कि उनिहरूको सुरु सुरुमा विश्व धरोहरको दर्जाले चलिरहेको विध्वंसात्मक क्रियाकलापविरुद्ध सुरक्षा हुनेछ भन्ने विश्वासको ठिक विपरीत राष्ट्रीय उद्यानको संरक्षित क्षेत्रको सिमानालाई खुम्चाइएका कारण राज्य सरकारलाई अघि नै नियोजित परियोजनाहरू अघि बडाउन सजिलो भएर गयो। 'उद्यान वरिपरीका क्षेत्रहरूलाई संवेदनशील पर्यावरण क्षेत्र भनेर तोकिने प्रस्ताव यो जातीय (एथनिक) भूखण्डलाई कानूनी रक्षाको आधार हुनसक्थ्यो। तर हाल यसको सिमा जङ्गुमा उद्यानको सिमानादेखि १००० मिटरदेखि घटाएर केवल २५ मिटरसम्म मात्र बनाइएको छ।'- ग्यात्सोले बताए।

रिपोर्टमा जोड दिएर यो सल्लाह प्रस्तुत गरिएको छ कि 'यूनेस्कोले राज्य पक्षलाई नामांकित सम्पदाको मूल खण्ड बढाउने अनि बायोस्पियर रिजर्भको मध्यवर्ती लगायत संक्रमण क्षेत्रहरूलाई पनि सामेल गर्न बारेमा आग्रह गर्नुपर्नेछ; जङ्गुका बायोस्पेयर रिजर्भको मध्यवर्ती अनि संक्रमण सबै क्षेत्रका बाँध निर्माणलाई बन्द गरेर अनि अस्तित्ववान परियोजनाहरूका कारण भएको विनासलाई सच्च्याउनु पर्नेछ; राष्ट्रीय उद्यान वरिपरीका संवेदनशील पर्यावरण मानिएका क्षेत्रको सिमाना कमसेकम दस किलोमिटर वरिपरीसम्म तोकेर फेरि एकचोटी बिस्तार गर्नुपर्नेछ; त्यहाँका मूल निवासी समुदायको अधिकार रक्षा गरियोस् अनि उनिहरूको पवित्र स्थल एवं भूमिलाई प्रभावित हुने कुनै पनि मत-निर्माण प्रक्रियामा उनिहरूलाई सामेल गरियोस् अनि राज्य पक्षलाई चयन फाइलमा (dossier) पवित्र नदीहरू पनि त्यसको सुरक्षा एवं व्यवस्थापनका निम्ति सिफारिस गर्दै उल्लेख गर्नु एवं प्रमुखता दिनुलाई आग्रह गरियोस्, जसमा नदीलाई मुक्त बग्न दिने अनि अन्य बाँध हालिएका नदिहरूलाई पनि मुक्त बग्नदिने कुराहरू सामेल होस्।

ग्यात्सो लेप्चा उनको मित्र छितेन लेप्चासित यस आन्दोलनको अगुवाई गरिरहेका छन्। उनिहरू अंतर्राष्ट्रीय मूल निवासीहरूको आन्दोलनसित पनि जोडिएका छन् अनि मुक्त बहने नदी अनि जीवनका निम्ति नदी परियोजना पनि अघि बढाएर आफ्नो स्थिति बलियो बनाइरहेछन्। पवित्र भूमिलाई रक्षा गर्ने सङ्घर्ष जारी नै छ।

References:

  1. Little, K. (2008). Lepcha Narratives Of Their Threatened Sacred Landscapes. Transforming Cultures E- journal, 3(1). Retrieved from https://epress.lib.uts.edu.au/journals/index.php/TfC/article/view/686

अनुवादक: टीका भाइ'

Photo Gallery
(Click to enlarge)

Translated by: टीका ‘भाइ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ


The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram